काठमाडौँ

नेपाल सरकारको आर्थिक बर्ष २०७८-२०७९ को बजेटमा चलचित्र उधोगको लागि पनि बजेटले राम्रै स्थान पाएको छ। यता बजेट भाषण पछि भने चलचित्रकर्मीहरु बिचमै मतभेद भैरहेको छ। केहिले बजेटमा  राम्रो स्थान पाएकोमा स्वागत गरेका छन् भने केहिले सहर्ष स्विकार्न सकेका छैनन्।

यता प्रदेश १ मा पनि बजेट अधिवेशन आव्हान गरी सकिएको छ। संविधानको धारा १८३ को उपधारा (१) बमोजिम यही २०७८ जेठ २४ गते सोमवार दिनको २:०० बजे प्रदेश सभाको बजेट अधिवेसन बोलाईएको छ। अब यहाँ चाहिँ चलचित्र क्षेत्रको लागि के कसरी र कति बजेट निर्धारण हुन्छ भन्ने कुरा चाहिँ पर्ख र हेरको अवस्था रहेको छ।

बजेट विनियोजन गर्ने सन्दर्भमा सक्रिय रुपमा काम गरिरहेको ‘नेपाल चलचित्रकर्मी महासंघ-प्रदेश १’ ले ‘चलचित्र पर्यटन क्षेत्रको रुपमा प्रदेश नं १, वार्षिक कार्य योजना प्रस्तावना पत्र’ बुझाई सकेको छ। महासंघमा आवद्ध १५ वटा संस्थासंँग छलफल पश्चात् सामुहिक रुपमा नै गत बैशाख १५ गते आन्तरिक मामिला तथा कानुन मंत्रालय प्रदेश १, मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय प्रदेश १, उधोग पर्यटन वन तथा बातावरण मन्त्रालय प्रदेश १, सामाजिक बिकास मन्त्रालय प्रदेश १ लाई बुझाईएको कुरा महासंघका वरिष्ठ सल्लाहकार तथा थारु चलचित्र तथा सांस्कृतिक संघका अध्यक्ष पर्सुराम चौधरीले जानकारी गराए।

गत आर्थिक वर्षमा पनि भब्य तामझाम सहित धरानमा गर्ने भनिएको अन्तरास्ट्रिय चलचित्र महोत्सवले पुर्ण रुप पाउन सकेन। धरान नगर प्रमुखको उप निर्वाचनको कारणले निर्वाचन आचार संहिता लागु भएपछि महोत्सव रोकियो।

हरेक वर्ष चलचित्र क्षेत्रको लागि प्रदेशमा छुट्टिने लाखौ बजेट खेर जान नदिनको लागि महासंघले प्रदेश १ सरकारलाई बार्षिक योजना प्रस्ताव गरेको मैथिली चलचित्रकर्मी संघका अध्यक्ष सन्तोष सरकारले जानकारी गराए। यस्तै चलचित्र निर्देशक समाजका सचिव बिनोद पुडासैनि भन्छन्-‘प्रदेश १ सरकारमा चलचित्र बुझ्ने विज्ञ नभएको हुँदा चलचित्र सम्बन्धी सल्लाह सुझाव चलचित्रकर्मीहरुले नै दिनुपर्छ।’

प्रदेश १ मा हुने चलचित्र गतिविधिलाई हामीले प्रस्तुत गरेको प्रस्तवना अनुसार नै कार्य योजना बनाई अघी बढेमा यो प्रदेशमा भएका सम्पूर्ण चलचित्रकर्मीहरुलाई सहभागी गराउदै चलचित्रनगरी बनाउने कुरामा विश्वस्त रहेको महासंघका महासचिव दिनेश कोईरालाले जानकारी गराए।

चलचित्र क्षेत्रको नाममा प्रदेश १ सरकारमा १ करोड बजेट छुट्टीने गरेको छ तर अहिले सम्मको गतिविधी र उपलब्धी हेर्दा सुन्य देखिन्छ। गत आर्थिक बर्ष २०७६/२०७७ मा प्रदेश १ सरकारले आँफैले आयोजना गरेको चलचित्र महोत्सव गर्न नसक्नु। आर्थिक  बर्ष २०७७/२०७८ मा प्रदेश १ सरकारले नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ संग सहकार्य गर्दै आयोजना गर्ने भनिएको चलचित्र महोत्सव कोभिडको दोश्रो लहरले गर्दा स्थगित हुनु। यिनै विविध कारणले गर्दा प्रदेश १ मा चलचित्रको गतिविधी शुन्य नै छ।

यस्तो छ महासंघले ९ बुदामा तयार गरेर प्रदेश सरकारलाई बुझाएको ‘चलचित्र पर्यटन क्षेत्रको रुपमा प्रदेश-१, वार्षिक कार्य योजना प्रस्तावना पत्र’ मा समावेश प्रस्तावहरु:

१) छायांकन स्थल निर्माणको लागि आवश्यक बजेट विनियोजन :
–चलचित्र बिकास बोर्डको कार्य योजना अनुरुप छायांकन स्थल निर्माण सम्भाव्यता अध्ययन समितिले आफ्नो प्रतिवेदन बुझाई सकेको र बाराहक्षेत्र नगरपालिकाले छायांकन स्थल निर्माणका लागि २०० बिगाह जग्गा प्रदान गर्ने प्रतिबद्दता व्यक्त गरिसकेको हुँदा हाल आएर केन्द्र सरकारले पनि यो बिषयमा सम्बोधन गरी सकेको र यस कार्यलाई तिब्र गतिमा कार्य सम्पन्न गर्न आवश्यक बजेट बिनियोजन गरियोस ।

२) राष्ट्रिय स्तरको कार्यशाला तथा तालिम :
– प्रदेश १ मा चलचित्र क्षेत्रलाई चलायमान गराउनको लागि चलचित्र क्षेत्रका बिभिन्न राष्ट्रिय स्तरका चलचित्र निर्देशकहरुलाई प्रदेश १ मा ल्याएर बिभिन्न प्रकारको कार्यशाला तथा तालिम चलाऊन आवश्यक रहने भएको हुँदा अब आउने आर्थिक बर्षमा नेपाल चलचित्र निर्देशक समाज केन्द्रिय कार्य समितीसंग सहकार्य गरी नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ ले “चलचित्र निर्देशकहरुको कार्यशाला’ गर्ने योजना बनाएको छ । यस प्रकारको कार्यशाला आयोजना गर्दा अन्य चलचित्र निर्देशकहरुलाई प्रदेश १ मा आएर चलचित्र निर्माण तथा छायांकन गर्न तर्फ आकर्षित गराउनको साथै प्रदेश १ मा रहेका चलचित्र निर्देशकहरुको व्यक्तित्व बिकासको लागि पनि ठुलो टेवा पुग्ने हुनाले यो कार्यसाला अती आवश्यक ठानी आगामी आर्थिक बर्षमा यो कार्यशाला गर्ने योजना बनाएका छौ । यस प्रकारले आयोजना गरिएको कार्यक्रमले प्रदेश १ को चलचित्र पर्यटनको बिकासमा ठुलो टेवा पुग्ने कुरामा हामी विश्वस्त रहेको छौ । उक्त कार्यशाला आयोजनाको निम्ती नेपाल चलचित्र निर्देशक समाज केन्द्रिय कार्य समितीसंग आवश्यक छलफल भईसकेको हुँदा, प्रदेश १ सरकारले यो कार्यशाला अनुमती प्रदान गरी आवश्यक बजेट बिनियोजन गरिदिन हुन हार्दिक अनुरोध गर्दछौ । यसरी नै प्रत्यक बर्ष बिभिन्नसंग चलचित्र सम्बन्धी पेशागत संस्थासंग आवद्ध रहेर अन्य विविध कार्यशाला गर्ने योजना रहेको छ ।

३) प्रदेश १ चलचित्र महोत्सव तथा विविध कार्यक्रम:
– प्रदेश नं १ लाई चलचित्रमय बनाउनको लागि यस चलचित्रकर्मी महासंघ प्रदेश १ ले राष्ट्रिय स्तरको चलचित्र महोत्सव प्रत्यक बर्ष आयोजना गर्ने तथा प्रदेश १ का चलचित्रकर्मीहरुलाई चलचित्र क्षेत्रमा योगदान पुर्याए वापत सम्मान कार्यक्रम गर्ने पुर्व घोषित कार्यक्रम अन्तर्गतको कार्यक्रमलाई आगामी बर्ष पनि निरन्तरता प्रदान गर्न आवश्यक बजेटको बिनियोजन गरियोस ।

४) संस्थागत रुपमा चलचित्र सम्बन्धी बिभिन्न गतिविधी तथा आदिवासी जनजाती चलचित्र महोत्सव :
– चलचित्रसंग सम्बन्धित रहेर कार्य गरिरहेका  संस्थाहरुलाई चलचित्रसंग सम्बन्धित विविध गतिविधिहरु संचालन गर्न यस महासंघको अधिनमा रही संस्थागत रुपमा प्रस्तावनाको आधारमा छुट्टाछुट्टै बजेट बिनियोजन गरियोस । संस्थागत गतिविधी भन्नाले आदिवासी जनजाती, मैथिली लगायत बिभिन्न पेशागत संस्थाले गर्ने आदिवासी जनजाती चलचित्र महोत्सव, कार्यशाला, डकुमेन्ट्री, छोटो फिल्म लगायत चलचित्रसंग सम्बन्धित गतिविधीलाई बुझाउने छ । यो कार्य अवधी प्रस्तावनाको आधारमा बर्षभरी आयोजना गर्न सकिने छ । यो योजना लागुगर्दा बर्षभरी बिभिन्न संस्थाहरुको चलचित्र सम्बन्धी गतिविधी गर्ने हुनाले प्रदेश १ चलचित्रमय हुने र चलचित्र पर्यटनको बिकासमा महत्वपूर्ण योगदान पुर्याउने कुरामा हामी विश्वास्त रहेको छौ ।

५) चलचित्र प्रोत्साहन कार्यक्रम :
– प्रदेश १ लाई चलचित्र पर्यटनको गन्तव्यको रुपमा बिकास गर्नको लागि राष्ट्रिय स्तरबाट प्रदेश १ मा छायांकन गर्न आउने कुनै पनि पहिलो १० चलचित्र तथा प्रदेश १ बाटै निर्माण हुने कुनै पनि पहिलो १० चलचित्रलाई पाच लाख सम्म प्रोत्साहन स्वरुप आर्थिक सहयोग उपलब्ध गराउने कार्य योजना बनाईयोस । यसो गर्नाले चलचित्र छायांकन गर्नको लागि चलचित्रकर्मीहरु प्रदेश १ प्रती आकर्षित हुने र प्रदेश १ मा छायांकन गर्न आउँदा यहाँको चलचित्र पर्यटनको बिकास हुने भएको हुँदा यो कार्य योजनालाई गम्भिरता पुर्वक लिनहुन हार्दिक अनुरोध गर्दछौ । यो योजना फुल लेन्थको कथानक (१:३० घण्टा भन्दा माथि निर्माण हुने) चलचित्रको लागि मात्र लागु हुनेछ । चलचित्र बिकास बोर्डमा निर्माण इजाजत लिएर प्रदेश १ मा दर्ता गर्न आएका चलचित्रहरु लाई नै दर्ताको आधारमा प्राथमिकता प्रदान गरिने छ । पहिलो बर्षमा यो प्रोत्साहन वापत केन्द्रको ५ र प्रदेश १ को ५ वटा चलचित्रगरी जम्मा १० वटा चलचित्र लाई मात्र प्रोत्साहन रकम प्रदान गर्न सकिने छ । यो रकम लिए वापत उक्त चलचित्र प्रारम्भ हुनुअघी प्रदेश १ सरकारले निर्माण गरेको चलचित्र पर्यटन सम्बन्धी ३० सेकेन्डको प्रमोशनल भिडियो तथा लोगो राखिने छ ।

६) चलचित्रकर्मी अक्षय कोष स्थापना :
– प्रदेश १ मा रहेर चलचित्र क्षेत्रमा २० बर्ष भन्दा बढी काम गरेका आदरणीय व्यक्तित्वहरुलाई भोलिको दिनमा भईपरी आउने समस्या (बिरामी, मृत्यु, आर्थिक संकट) मा केही राहत पुग्नेगरी आर्थिक सहयोग गर्न प्रदेश १ सरकारबाट अक्षय कोष स्थापना गरियोस वा नेपाल चलचित्रकर्मी महसंघ प्रदेश १ ले स्थापना गर्न लागेको अक्षय कोषका लागि आवश्यक बजेट बिनियोजन गरियोस ।

७) सदभावना दुतको नियुक्ती :
– राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा ख्याती कमाएका प्रदेश नं १ का चलचित्रकर्मी १ जना लाई सदभावना दुतको रुपमा नियुक्ती गरी प्रदेश नं १ को विशिष्ठ चलचित्रकर्मीलाई सम्मान प्रदान गर्न हुन पनि अनुरोध गर्दछौ । यसो गर्दा अन्य चलचित्रकर्मीहरुलाई प्रदेश १ मा आमन्त्रण गर्न सदभावना दुतको बिशेष भूमिका रहनुको साथै यस प्रदेशको चलचित्र पर्यटन क्षेत्रको प्रचारप्रसार गर्न पनि ठुलो भूमिका रहने कुरामा हामी विश्वास्त रहेका छौ । सदभावना दुतले प्रदेश १ मा निर्माण गरेको चलचित्र पर्यटन सम्बन्धी प्रचार सामाग्रीमा अभिनय गर्नुको साथै प्रदेश १ सरकारले आयोजना गर्ने कार्यक्रममा उपस्तिथी हुने र प्रदेश १ को चलचित्र पर्यटन क्षेत्रको प्रचारको लागि बिशेष भूमिका निर्वाह गर्नुपर्ने हुन्छ ।

८) चलचित्र गन्तव्य स्थलको घोषणा, प्रचार सामाग्री निर्माण :
– प्रदेश १ सरकारले यस प्रदेशको १४ वटै जिल्लामा पर्ने प्रमुख चलचित्र छायांकन स्थलको पहिचान गरी प्रत्यक बर्ष बिशेष प्राथमिकताको साथ प्रचारप्रसार गर्ने योजना बनाईयोस । छायांकन स्थलको पहिचान गर्नका लागि छायांकन स्थलको पहिचान छनौट समिती छिटो भन्दा छिटो गठन गरियोस ।                                                ९) प्रदेश १ चलचित्र बिकास बोर्ड स्थापना :
– प्रदेश १ मा चलचित्र सम्बन्धी छुट्टै निती निर्माण तथा बिकास गर्नको लागि प्रदेश १ सरकारले छुट्टै बजेट विनियोजन गरी ‘चलचित्र बिकास बोर्ड, प्रदेश नं १’ स्थापना गरियोस । यदी बिकास बोर्ड स्थापना भएको खण्डमा बिकास बोर्डले प्रदेश नं १ सरकारले माथि उल्लेखित वुदालाई नै ध्यानमा राखी कार्य योजना बनाउदा समग्र प्रदेश १ को चलचित्र क्षेत्रको बिकास तथा प्रदेश नं १ लाई नै चलचित्र पर्यटन क्षेत्रको रुपमा बिकास गर्न सकिने कुरामा हामी विश्वस्त रहेको जानकारी गराउद छौ ।

Facebook Comments Box